FAQs Complain Problems

प्रमुख सूचना::

बजेट बक्तब्य

जोरायल गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय

रावतकट्टे, डोटी

२०७७

 

अध्यक्ष महोदय,

  • मुलुकभरी ७५३ वटा स्थानीय तहको गठन भएको तिन वर्ष भैसकेको छ । हाम्रो वर्तमान जटिल एवम् चुनौतीपूर्ण भएतापनि विगत गौरवपूर्ण छ र हाम्रो भविष्य उज्जवल र सम्भावनायुक्त छ । आज असार १० गते, म यस गाउँपालिकाको उपाध्यक्षका हैसियतले यस गरिमामय सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट पेश गर्न उभिएको छु । यस गौरवपूर्ण अवसरमा नेपालमा लोकतान्त्रिक पद्धति स्थापना गर्न आफ्नो ज्यान उत्सर्ग गर्नुहुने सम्पुर्ण ज्ञात, अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । साथै घाइते र बेपत्ता नागरिकहरुप्रति सम्मान प्रकट गर्दछु । राजनीतिक-सामाजिक परिवर्तनमा नेतृत्वदायी एवम् सहयोगी भूमिका निर्वाह गर्ने सबै अग्रजहरुप्रति आदरभाव प्रकट गर्दछु ।
  • डोटी जिल्लाका गाउँपालिकाहरु मध्ये सबैभन्दा बढी जनसंख्या र क्षेत्रफल भएको जोरायल गाउँपालिकाको सबैभन्दा ठूलो सबल पक्ष यसको मानव संसाधन रहेको छ । यसका अतिरिक्त यस गाउँपालिकामा रहेका नदी नाला, वन, कृषियोग्य भूमीले यस गाउँपालिकाको विकासलाई सकारात्मक दिशा तर्फ डोर्‍याउन सहयोग गर्ने विषयमा दुई मत छैन ।
  • यद्यपी यस गाउँपालिकामा विद्यमान गरिबी, सरसफाई सम्बन्धी जनचेतनाको अभाव, परम्परागत र निर्वाहमुखी कृषि प्रणाली, सडक सञ्जालको अपेक्षाकृत विस्तार नहुनु, विद्युत सेवाको आशातित रुपमा विस्तार नहुनु, सक्षम मानव संसाधनको विदेश पलायन, बाल विवाह आदि यस गाउँपालिकाका प्रमुख समस्याका रुपमा रहेका छन् ।
  • स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात यस गाउँपालिकामा समेत राजनीतिक नेतृत्वको अभावमा लामो समयसम्म विद्यमान रहेको राजनीतिक शुन्यताको अन्त्य भएको छ । स्थानीय शासन र विकास निर्माणमा प्रत्येक नागरिक आफै संलग्न हुने वातावरण बनेको छ । राजनीतिक प्रणालीप्रति नागरिकको भरोसा पुनर्स्थापित हुने क्रममा रहेको छ ।

अध्यक्ष महोदय,

  • यी आदि अवसर, समस्या र सम्भावना बिच जोरायल गाउँपालिकाका चुनौतिहरु निम्नानुसार रहेका छन्:
  • असारे विकास गर्ने परिपाटिलाई न्यूनीकरण गर्नु ।
  • आयोजना कार्यान्वयन क्षमता बृद्धि गर्नु ।
  • आन्तरिक उत्पादन र उत्पादकत्त्व बृद्धि गर्नु ।
  • कृषिलाई व्यवसायमुखि बनाउनु ।
  • युवाको जनशक्तिको विदेश पलायन रोक्नु ।
  • थप आन्तरिक आय र राजस्वका स्रोतहरुको पहिचान गरी तिनको प्रभावकारी परिचालन गर्नु ।
  • विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्नु ।
  • कोरोनाका भाइरसका कारण दैनिक जनजीवनमा परेको प्रभाव प्रभावकारी व्यवस्थापन गर्नु ।
  • भारत लगायत विभिन्न मुलुकबाट कोरोना प्रभावका कारण यस पालिकामा फर्किएका व्यक्तिहरुको रोजगारी सिर्जना गर्नु ।
  • कोभिड १९ का कारण विगत लामो समय देखी बन्द अवस्थामा रहेका विद्यालयहरु संचालन गर्नु ।

अध्यक्ष महोदय,

  • हाम्रा सामु विभिन्न चुनौतीहरु रहेता पनि यी चुनौतीहरुको सामना गर्न र विद्यमान अवसरहरुको सदुपयोग गर्ने गरी आ.व. २०७७/०७८ को बजेट तयार गरिएको छ । यो बजेटका उद्देश्यहरु यस प्रकार रहेका छन्:
  • गरीबि न्यूनीकरण गर्नु,
  • दिगो र समावेशी आर्थिक वृद्धि हाँसिल गर्नु,
  • आधारभूत स्वास्थ्य सुविधामा र शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नु,
  • आधारभूत पूर्वाधारहरु सडक, खानेपानी, सिँचाईको सुनिश्चितता गर्नु,
  • सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय बनाउनु ।
  • रोजगार गुमेका व्यक्तिहरुको रोजगारी सिर्जना गर्नु ।
  • आधारभुत शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा सुधार गरी दीगो विकासका लक्ष्यहरु हाँसिल गर्नु ।
  • यी उद्देश्यहरु हाँसिल गर्नका लागि आगामी आ.व.को बजेटका प्राथमिकताहरु देहाय बमोजिम निर्धारण गरिएको छ:
  • रोजगारीका अवसरहरुमा बृद्धि,
  • उत्पादन र उत्पादकत्त्वमा बृद्धि,
  • कृषिको आधुनिकीकरण र व्यवसायीकरण,
  • सडकको निर्माण र स्तरोन्नती,
  • शिक्षा, स्वास्थ्य, खानेपानीमा लगानी,
  • महिला, दलित, बालबालिका एवम् अल्पसंख्यकको संरक्षण र सम्बर्द्धन,
  • कला, संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन ।

अध्यक्ष महोदय,

 अब म यिनै चुनौती, उद्देश्य र प्राथमिकताको सेरोफेरोमा रहेर तयार गरिएको आ.व. २०७७/०७८ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

कृषिः समृद्धिको प्रमुख आधार

  • कृषि क्षेत्रतर्फका विकासका लागि कृषि विकास सेवा शाखा मार्फत कार्यक्रम संचालनका लागि सशर्त अनुदान रु. २८ लाख ५० हजार र गाउँपालिका निशर्त अनुदान रु. २५ लाख गरी जम्मा रकम रु. ५३ लाख ५० हजार  बिनियोजन गरिएको छ ।
  • अधिकाँस जोरायलबासीको प्रमुख पेशाको रुपमा रहेको कृषि व्यावसायिकरण र आधुनिकीकरण बिना जोरायल गाउँपालिकाको विकासको सपना पूरा हुन सक्दैन । त्यसैले निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायमुखी कृषिमा रुपान्तरण गरी गरिबि न्यूनीकरण गर्न कृषि क्षेत्र तर्फका कार्यक्रमलाई थप परिष्कृत गरिने छ ।
  • अध्यक्ष कृषि विकास कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । एक वडा एक उत्पादनको नीति अंगिकार गर्दै वडा नं. १ र २ मा तरकारी खेती, वडा नं. ३ र ४ मा जोरायली बासमती, वडा नं. ५ मा फलफुल खेती र वडा नं. ६ मा सुन्तला जात फलफूल तथा मसाला खेतीको अथावा सम्भावनालाई उजागर गरिनेछ । यसका लागि रु. १२ लाख बिनियोजन गरिएको छ ।
  • आधुनिक मौरी घर, फलामे ट्रस सहितको प्लाष्टिक घर, थोपा सिँचाई प्रविधि जस्ता आधुनिक प्रविधि र उपकरण हस्तान्तरण र वितरण गरिनेछ । फलफुल खेतीलाई थप विस्तार गर्न ओखर, आरु, पुलम र खुर्पानीका विरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिनेछ ।
  • परम्परागत र निर्वाहमुखी कृषि प्रणालीलाई प्रतिस्थापन गरी आधुनिक कृषि प्रणालीको विकास गरिनेछ । साना सिँचाई, सहकारी सिँचाई मार्फत सिँचाई सुविधा विस्तार गरी उत्पादन र उत्पादकत्त्व बृद्धि गरिनेछ । युवाहरुलाई कृषि तर्फ आकर्षित गरी बेरोजगारी न्यूनीकरण मार्फत दिगो र भरपर्दो आर्थिक विकास गरिनेछ ।

 

  •  
  • पशुपंक्षी क्षेत्रतर्फका विकासका लागि पशु सेवा शाखा मार्फत कार्यक्रम संचालनका लागि सशर्त अनुदान रु. २६ लाख र गाउँपालिका निशर्त अनुदान रु. २५ लाख गरी जम्मा रकम रु. ५१ लाख  बिनियोजन गरिएको छ ।
  • पशुपालनलाई जनताका आधारभूत आवश्यकता पुरा गर्ने माध्यमका रुपमा विकास गर्नुका साथै व्यावसायिकरण तर्फ उन्मुख गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछन् । समय समयमा निःशुल्क भ्याक्सिन दिने व्यवस्था गर्नुका साथै अनुदानमा घाँसे विउ वितरण गर्ने व्यवस्था मिलाइनेछ । साथै निःशुल्क पशु स्वास्थ्य शिविर समेत सञ्चालन गरिनेछ ।
  • दुधमा आत्मनिर्भर कार्यक्रम सञ्चालनमा ल्याईनेछ । जसका लागि गोठ सुधार कार्यक्रम, भैंसीको साना व्यवसायीक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालन गरिनेछ । जसका लागि सशर्त अनुदान तर्फ रु. २५ लाख रकम विनियोजन गरिएको छ ।
  • अण्डामा आत्मनिर्भर हुन र मासुको समेत आपूर्ति व्यवस्थापनमा सहयोग पुर्‍याउन प्रत्येक वडाबाट २ जनालाई ५० वटा डियोल प्रपोज कुखुराका चल्ला वितरण गरिनेछ । जसका लागि रु. २ लाख १२ हजार रकम विनियोजन गरिएको छ ।
  • सुनौला हजार दिनका महिलाहरुलाई उपाध्यक्ष कोशेली कार्यक्रम संचालन गरिने छ । जसका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
  • आ.व. २०७७/०७८ देखि कृत्रिम गर्भाधान कार्यक्रम संचालनमा ल्याईनेछ । यसका लागि रु. १ लाख विनियोजन गरिएको छ । एकल महिला, दलित, जनजाती, विपन्न तथा पिछिडिएका वर्गको आर्थिक सामाजिक विकासका लागि बाख्रापालन तथा खोर सुधार कार्यक्रमलाई निरन्तरता दिइएको छ । जसका लागि रु. ३ लाख ३० हजार रकम विनियोजन गरिएको छ । साथै विपन्न वर्ग लक्षित अनुदानका लागि रु. १ लाख ८० हजार रकम विनियोजन गरिएको छ ।

 

दिगो विकास र समृद्धिको आधारः पूर्वाधार

  •  
  • पर्याप्त सिँचाईको सुविधा विस्तार गरे मात्रै कृषि क्रान्ति सफल हुन सक्ने तथ्यलाई हृदयंगम गर्दै सिँचाईमा लगानी गरिनेछ । गाउँपालिका निशर्त अनुदानबाट सिँचाईका लागि रु. २६ लाख १० हजार विनियोजन गरिएको छ ।

 

  •  
  •  पूर्वाधार क्षेत्रतर्फका विकास निर्माण कार्यका लागि गाउँपालिका निशर्त अनुदान रु. ५ करोड ९४ लाख ७ हजार ५ सय रकम बिनियोजन गरिएको छ ।
  • समग्र आर्थिक-सामाजिक क्रियाकलापहरुलाई विस्तार गर्ने र सेवा प्रवाहमा पहुँच वृद्धि गर्ने माध्यमका रुपमा रहेको सडक पूर्वाधार निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ । यसका लागि सडक स्तरोन्नति गरिनुका साथै प्रत्येक वडाहरुमा नयाँ ट्र्याक खोल्ने कार्यलाई तिब्रता दिइनेछ । कफलतडी दह सिस्मडा सडक निर्माणका लागि रु. ८ लाख, बाघखोड खार सडक निर्माणका लागि रु. ५ लाख, बुडर डोडरी सडक निर्माणका लागि रु. ७ लाख, बगर बरम सडक निर्माणका लागि रु. ७ लाख, विनोडा खैगाड सडक निर्माणका लागि रु. ७ लाख, बोरगाउँ मालिका पर्यटकीय सडक निर्माणका लागि रु. ५ लाख, चौकी बन्दार खतेडा सडक निर्माणका लागि रु. ८ लाख, सुनारी बगिडा सडक निर्माणका लागि रु. ५ लाख, गोगनपानी साकिन्डाँडा सडक निर्माणका लागि रु. ७ लाख, नौकुडा सडक निर्माणका लागि रु. ४ लाख,कट्टपत्ते कमला नदि कृषि सडक निर्माणका लागि रु. ५ लाख, सानीगाड डाँडागाउँ सडक निर्माणका लागि रु. ३ लाख, सित्तोली पियलकाँडा सडक निर्माणका लागि रु. ३ लाख, बेल्टुक्रा मुड्की कनेडी सडक निर्माणका लागि रु. ५ लाख विनियोजन गरिएको छ ।
  • अधुरा सडक निर्माण कार्य सम्पन्न गर्नका लागि रु. १ करोड ५० लाख रुपैया विनियोजन गरिएको छ । जोरायल सहजपुर सडकका लागि रु. ७ लाख, जोरायल बडिगाड सडकका लागि रु. ७० लाख, गडसेरा बडिगाड सडकका लागि रु. २० लाख, चुचुनढुङ्गा सिराड सडकका लागि १७ लाख, गोल्डेन खारतोली सडकका लागि रु. ५ लाख, लामेखाली ठाँटीगडा सडकका लागि रु. १० लाख, जोरायल खसरे सडकका लागि रु. १० लाख र अल्याडी शिखर सडकका लागि रु. ११ लाख विनियोजन गरिएको छ ।

 

  •  
  • उर्जा, लघु तथा साना जलविद्युत आयोजना क्षेत्रतर्फका विकास निर्माण कार्यका लागि गाउँपालिका निशर्त अनुदान रु. ३६ लाख रकम बिनियोजन गरिएको छ ।
  • यस गाउँपालिकामा विद्युतको पहुँच नपुगेका विभिन्न स्थानमा विद्युत पहुँच सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरिनेछ । विद्युत विस्तारका लागि ३ नं. वडामा रावतकट्टे बेलालपानी विद्युत विस्तारका लागि पोल र तार खरिदमा रु. ३ लाख, ५ नं. वडामा बडीगाड पोलतार खरिदका लागि रु. ३ लाख र ६ नं. वडामा बेत्राइना बाग बजार लघु जलविद्युत आयोजनाका लागि रु. ८ लाख विनियोजन गरिएको छ ।

 

  •  
  • गाउँपालिका अन्तर्गत भवन निर्माण क्षेत्रतर्फका विकास निर्माण कार्यका लागि गाउँपालिका निशर्त अनुदान रु. २ करोड ११ लाख ३० हजार रकम बिनियोजन गरिएको छ ।
  • प्रभावकारी सेवा प्रवाहका लागि प्रयाप्त पूर्वाधार हुनुपर्ने भएकोले गाउँपालिकाको प्रशासकीय भवनमा तला थपका  लागि रु. १ करोड ७० लाख, न्यायिक समितिको भवनको जग निर्माणका लागि रु. ७ लाख, जोरायल रेडक्रस उपशाखा भवन निर्माणका लागि रु. १० लाख विनियोजन गरिएको छ ।

 

  •  
  • शिक्षित जनशक्तिले गाउँ निर्माण मात्र नभई समग्र राष्ट्र निर्माणमा नै निर्णायक र महत्त्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई हदयंगम गर्दै नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान सहित रु. १७ करोड ५९ लाख विनियोजन गरिएको छ । साथै शिक्षा तर्फ गाउँपालिका निशर्त अनुदान रु. १ करोड ७० लाख २१ हजार रकम बिनियोजन गरिएको छ ।
  • सम्पूर्ण बालबालिकाहरुलाई गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गर्ने विषयलाई जोड दिइनेछ । शिक्षामा गुणसुतर ल्याउन विभिन्न ३२ वटा विद्यालय र २३ वटा बालविकास केन्द्र लाई रु. ९५ लाख अनुदान दिइनेछ ।
  •  विद्यालयमा छात्रा उपस्थिति वृद्वि गर्न तथा शैक्षिक गुणस्तर अभिवृद्वि गर्न सामुदायिक विद्यालयका छात्राहरुलाई स्यानिटरी प्याड वितरण गरिने छ । जसका लागि रु. २१ लाख ९ हजार बजेट विनियोजन गरिएको छ ।
  • वालविकास केन्द्रहरुमा सामग्री र वितरणका लागि रु. ४ लाख, अभिभावक जागरण कार्यक्रम विद्यालय र वालविकास केन्द्रलाई रु. २ लाख, गा.पा. स्ततरीय राष्टपति रनिङसिल्ड कार्यक्रमका लागि रु. ६ लाख, रत्न आ.वि. रावतकट्टेमा बालउद्यान निर्माणका लागि रु. ४ लाख ९० हजार विनियोजन गरिएको छ ।

 

स्वास्थ्य सेवाः

  • स्वास्थ्य क्षेत्रतर्फका विकासका लागि स्वास्थ्य शाखा मार्फत कार्यक्रम संचालनका लागि सशर्त अनुदान रु. ३ करोड ३४  लाख, गाउँपालिका निशर्त अनुदान ( करार कर्मचारीहरुको तलब भत्ता सहित) १ करोड ४३ लाख १० हजार ९ सय ८० रु. ५० लाख  र  गरी जम्मा रकम रु. ४ करोड ७७ लाख १० हजार ९ सय ८० रकम बिनियोजन गरिएको छ ।
  • सबै जोरायलबासीले आधारभूत स्वास्थ्य सेवा सहज र सरल ढंगले प्राप्त गर्ने गरी कार्यक्रमहरु सञ्चालन गरिनेछन् । यसका लागि रु. ४ करोड ६२ लाख २२ हजार विनियोजन गरिएको छ ।
  • प्रयोगशाला सेवा विस्तार गर्न रु. ८ लाख ५० हजार विनियोजन गरिएको छ । महिला स्वास्थ्य स्वयम् सविकाको भूमिकाको उच्च मूल्याकंन गर्दै पोशाक भत्ताको व्यवस्था गरिएको छ ।
  • जोरायल गाउँपालिकाले यस अघि वितरण गर्दै आएको विभिन्न ४२ प्रकारका निःशुल्क औषधी तथा आवश्यक अन्य सर्जिकल सामाग्रीहरुका लागि सशर्त अनुदानबाट नपुग हुने आवश्यक रकम गाउँपालिकाबाट थप गरिने छ । ANC र PNC लाई थप बल दिन गर्भवती र सुत्केरी महिलालाई चेक जाँच गराउन आउँदा आयोडिन नुन वितरण गरिनेछ । स्वास्थ्य सेवालाई सर्वसाधारणको घरदैलोमा पुर्‍याउन विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिनेछ ।

 

महिला, बालबालिका तथा समाजकल्याणः

  • महिला, वालवालिका तथा जेष्ठ नागरिक क्षेत्रतर्फका विकासका लागि महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा मार्फत कार्यक्रम संचालनका लागि सशर्त अनुदान रु. ३ लाख र गाउँपालिका निशर्त अनुदान रु. १६ लाख गरी जम्मा रकम रु. १९ लाख  बिनियोजन गरिएको छ ।
  • आधा आकाश ओगट्ने महिलाको श्रम, सीप र नेतृत्व कौशल विकास गर्न उपाध्यक्ष महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरिनेछ । लैंगिक तथा घरेलु हिंसा निवारण, लैंगिक समानता र मानव बेचबिखन विरुद्धका अभियान सञ्चालन गरिनेछन् ।
  • महिलाका लागि ब्युटी पार्लर तालिम, नमकिन उत्पादन तालिम, आलु चिप्स तालिम सञ्चालन गरिनेछ । जसका लागि रु. ८ लाख रकम विनियोजन गरिएको छ ।
  • ज्येष्ठ नागरिकहरुलाई उहाँहरुलाँई समाजको विकासमा पुर्‍याउनु भएको योगदानको उच्च मूल्याकंन गर्दै सम्मान गरिनेछ ।  जेष्ठ नागरिकको अवस्था समस्या र चुनौती सम्बन्धी आवश्यक कार्यक्रम संचालन गर्नका लागि रु.१ लाख ५० हजार रकम विनियोजन गरिएको छ ।

 

खानेपानी तथा सरसफाईः

  • जोरायलबासीको स्वच्छ खानेपानी र सरसफाईको हकको सम्मान गर्दै ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना अन्तर्गत प्राप्त रु. ८४ लाख १७ हजार विनियोजन गरेको छ । साथै समपुरक कोषबाट समेत खानेपानी तथा सरसफाईमा लगानी गरिनेछ ।

 

संस्कृति प्रवर्द्धन तथा संवर्द्धनः

  • संस्कृति नै कुनै पनि स्थानको पहिचान र स्वाभिमान हो । यसै तथ्यलाई मनन गर्दै कला र संस्कृति प्रवर्द्धनका लागि प्रयास गरिनेछन् । जसका लागि रु. २५ लाख ७६ हजार रकम विनियोजन गरिएको छ ।
  • यस गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा धार्मिक पर्यटनस्थल, सांस्कृतिक सम्पदा, मठ मन्दिरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि संस्कृति झल्काउने भौतिक पूर्वाधारको विकास गरिने छ ।
  •  साथै ३ नं. वडामा रावतकट्टे पार्क निर्माणका लागि रु. ५ लाख विनियोजन गरिएको छ ।

 

युवा तथा खेलकुदः

  • युवा, खेलकुद तथा मनोरंजन क्षेत्रतर्फका विकासका लागि कार्यक्रम संचालनका गर्न सशर्त अनुदान रु. १ लाख र गाउँपालिका निशर्त अनुदान रु. १३  लाख ५० हजार गरी जम्मा रकम रु. १४ लाख ५० हजार रकम बिनियोजन गरिएको छ ।
  • अध्यक्ष कप लगायत अन्य गाउँपालिका स्तरीय खेलकुद कार्यक्रमका लागि  रु. ६ लाख रुपैया विनियोजन गरिएको छ ।

 

वातावरण, भू-संरक्षण तथा विपद व्यवस्थापनः

  • वातावरण, भू- संरक्षण तथा विपद व्यवस्थापन क्षेत्रतर्फका विकासका लागि कार्यक्रम संचालन गर्न सशर्त अनुदान रु. १ लाख र गाउँपालिका निशर्त अनुदान रु. ३७  लाख ०५ हजार गरी जम्मा रकम रु. ३८ लाख ५  हजार रकम विनियोजन गरिएको छ ।
  • वातावरण संरक्षण विना गरिएको विकास दिगो र भरपर्दो हुन सक्दैन । त्यसैले वातावरण संरक्षणलाई विशेष महत्त्व दिइनेछ ।
  • जोरायल गाउँपालिका भित्र जलउत्पन्न प्रकोप नियन्त्रण अन्तर्गत बिछिल तटबन्धन योजना निर्माणका लागि रु. ४ लाख, ल्वारीगाउँ तटबन्धन योजना निर्माणका लागि रु. ३ लाख, पिपलकण्डे तटबन्धन योजना निर्माणका लागि रु. ५ लाख विनियोजन गरिएको छ ।

 

संस्थागत विकास, सेवा प्रवाह र सुशासनः

  • सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री र प्रभावकारी बनाउन आवश्यक कदम चालिनेछन् । सार्वजनिक महत्वका विषयलाई पारदर्शि बनाउन र सेवा प्रवाहमा आवश्यक सुधारका लागि संस्थागत विकास, सेवा प्रवाह र सुशासन, तालिम तथा गोष्ठी अन्तर्गत गाउँपालिका निसर्श अनुदान रकमबाट रु. ७० लाख ५० हजार विनियोजन गरिएको छ ।

 

कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापन

  • कोभिड -१९ अर्थात कोरोना रोगको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि स्थापना भएको प्रकोप व्यवस्थापन कोषमा  रु. ३५ लाख रकम विनियोजन गरिएको छ ।

 

अध्यक्ष महोदय,

  • अब म बजेटको विनियोजन र स्रोतको व्यवस्था सम्बन्धी योजना प्रस्तुत गर्दछु ।
  • आ.व. २०७७/०७८ का लागि ४६ करोड ७ लाख ८३ हजार ५ सय २० रुपैया विनियोजन गरिएको छ । जसमध्ये नेपाल सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदानबाट २५ करोड ९३ लाख रुपैया, संघको समानीकरण अनुदानबाट रु ९ करोड २६ लाख, संघको राजस्व बाँडफाँड बाट प्राप्त अनुदान रु ८ करोड ४७ लाख २८ हजार ५ सय २०, प्रदेश सरकारबाट समानिकरण अनुदानबाट ६९ लाख ६८ हजार तथा सवारी साधन कर बाँडफाँडबाट रु. २६ लाख ८७ हजार, गाउँपालिकाको आन्तरिक राजस्वबाट रु. २५ लाख , अ.ल्या. रकमबाट १ करोड २० लाख रहेको छ ।
  • कुल विनियोजन मध्ये चालु तर्फ रु. ३६ करोड ३८ लाख ४४ हजार २० अर्थात ७८.९६ प्रतिशत र पूँजीगत तर्फ रु. ९ करोड ६९ लाख ३९ हजार ५ सय अर्थात् २१.०४ प्रतिशत रहेको छ ।

 

अध्यक्ष महोदय,

यस गाउँपालिका अन्तर्गत संचालनमा रहेका विभिन्न गैर सरकारी संघसंस्थाहरुबाट प्राप्त विभिन्न कार्यक्रमको विवरण तथा विनियोजित बजेट

  • युनिसेफ नेपालको सहयोगमा स्वास्थ्य, शिक्षा, पोषण, बालसंरक्षण, खानेपानी तथा सरसफाई, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन, सामाजिक नीति तथा सुरक्षा लगायतका कार्यक्रमहरु संचालन गर्न रु. ७२ लाख ३३ हजार ,६ सय ७२ रुपैयाको बजेट विवरण पेश भएको छ ।
  • यूनाईटेड मिशन टु नेपाल र समान पहँच विकास केन्द्र (सिड) नेपाल डोटीको संयुक्त साझेदारीमा कोभिड-१९ समुदाय प्रतिकार्य परियोजनाका लागि रु. ५ लाख ८ सय, सक्षम परियोजना ( महामारी प्रभावित मानिसहरुको सम्मान पूर्ण जीवन) का लागि रु. १५ लाख ९० हजार ५ सय र जवाफदेहिता अभिवृद्वि मार्फत समावेशी विकास कार्यक्रम(IDEA)का लागि रु. ७ लाख ४५ हजार ८ सय २० रुपैया गरि जम्मा रु. २८ लाख ३७ हजार १ सय २० रुपैयाको बजेट पेश भएको छ ।
  • जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि-बर्ड) ले जोरायल गाउँपालिकामा स्थानीय बीउ प्रणाली सुधार कार्यक्रम परियोजना मार्फत अनुमानित रु २५ लाख ६ हजार २ सय ८५ बराबरको कार्यक्रम संचालन गरिने प्रतिबद्वताको लागि बजेट पेश भएको छ ।
  • युरोपियन युनियन र डिसिए नेपालको आर्थिक सहयोगमा गाउँपालिकामा संचालित परिवर्तन परियोजना अन्तर्गत ईन्लोगोस काठमाडौंबाट संचालन हुने सुशासन प्रवर्द्वन तथा संस्थागत विकास कार्यक्रमका लागि स्वशासन अध्ययन प्रतिष्ठानबाट  रु. ७ लाख ६३ हजार ५ सय ६६ रुपैयाको बजेट पेश भएको छ ।
  •  सुशासन प्रवर्द्वन क्षेत्रमा कार्यरत साझेदारी संस्था जि.आइ.जेट. ले पनि आवश्यक रकम विनियोजन गर्ने प्रतिवद्वता गरेको छ ।

 

अध्यक्ष महोदय,

  • यस बजेटको कार्यान्वयनबाट यस गाउँपालिकाको सामाजिक आर्थिक विकासमा उल्लेख्य योगदान पुग्ने विश्वास गर्न सकिन्छ ।
  • प्रस्तुत बजेट तर्जुमा मार्ग निर्देशन गर्नुहुने आदरणीय अध्यक्ष ज्यू, वडा अध्यक्ष ज्यूहरु, जोरायल गाउँपालिका तथा गाउँसभा सदस्य ज्यूहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधी ज्यूहरु, राष्ट्रसेवक कर्मचारी, बुद्धिजीवि, नीजि क्षेत्रका संघ संगठनहरु, नागरिक समाज तथा सामुदायिक संस्था, सामाजिक संगठनहरु, पत्रकार र विदेशमा रहनु भएका जोरायल गाउँपालिकाका दिदीबहिनी तथा दाजुभाईहरु सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
  • अन्त्यमा यस गाउँपालिकाको विकासमा योगदान पुर्‍याउनु हुने आम नागरि, विकास साझेदार र अन्य सरकारी तथा गैरसरकारी संघ संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
  • जोरायल गाउँपालिकाका समस्या धेरै छन्  र यिनको समाधान हामी सबैको सामूहिक प्रयासबाट मात्रै सम्भव छ । त्यसैले आउनुहोस सबै एकजुट होऔँ र जोरायलको मुहार फेर्ने अभियानमा सहभागी बनौँ ।  म जुट्छु जोरायलको मुहार फेर्छु भन्ने भावनाबाट अगाडी बढौँ ।

 

  •  

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: