FAQs Complain Problems

प्रमुख सूचना::

आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम

जोरायल गाउँपालिकाको

आठौँ गाउँसभाको बैठकमा

उपाध्यक्ष श्री जमुना कुमारी बोहरा ज्यू द्वारा प्रस्तुत

आ.व. २०७७/०७८ को

नीति तथा कार्यक्रम

 

जोरायल गाउँपालिका

 

गाउँ कार्यपालिकाको कार्यालय

रावतकट्टे, डोटी

२०७७।०३।१०

 

सम्मानित गाउँसभाका अध्यक्ष महोदय,

सभाका सदस्यहरु,

उपस्थित गाउँकार्यपालिका सदस्यज्यूहरु, गाउँसभा सदस्यज्यूहरु, प्रमुख अथिति ज्यू, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाका कर्मचारीहरु, पत्रकारज्यूहरु एवम् उपस्थित सम्पूर्ण महानुभावहरु,

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तह देखि नै सुदृढीकरण गरी गाउँपालिकाको समृद्धि र विकास तर्फ अगाडी बढीरहेकै समयमा कोभिड-१९ नामको कोरोना भाइरसबाट सिर्जित विश्वव्यापी महामारीले निम्त्याएको चुनौतीपूर्ण परिस्थिति बीच आज नेपालको संविधान २०७२ बमोजिम गठित स्थानीय सरकारको उप प्रमुखको रुपमा जोरायल गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुत गर्दैछु ।

यस अवसरमा म नेपालमा लोकतान्त्रीक व्यवस्थाका लागि नेपाली जनताले गर्दै आएको आन्दोलन देशलाई यस स्थितिमा ल्याई पुर्याउन आफ्नो प्राणोत्सर्ग गर्ने सम्पूर्ण महान सहिदहरु, द्वन्द्वपीडितहरु तथा देशमा गणतन्त्र स्थापना तथा संघीयता स्थापना गर्न जनआन्दोलनका घाइतेहरुको अहम् भूमिका खेल्ने सम्पूर्ण ज्ञात अज्ञात व्यक्तिहरुलाई सम्झन चाहन्छु ।

कोभिड-१९ का कारण विश्वभर संकट पैदा हुनुका साथै उल्लेख्य रुपमा जनधनको क्षति भएको छ । नेपालमा संक्रमण देखिन थालेको छ । यस महामारीका कारण स्वदेश तथा विदेशमा जीवन गुमाउनु हुने नेपाली लगायत विश्वभरका नागरिकहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्दछु । यस जोरायल गाउँपालिकामा हालसम्म १४ जना कोरोना पोजेटिभ देखिएकाले उहाँहरुको शिघ्र स्वास्थ्यलाभको कामना तथा नेपालभर र विदेशमा समेत उपचाररत दिदिबहिनी तथा दाजुभाईहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

कोभिड-१९ (कोरोना भाईरस) रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा स्वेच्छिक रुपमा आर्थिक, स्वास्थ्य सामाग्री तथा जिन्सी सामान सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, सरकारी तथा गैर सरकारी संस्था एवम् सम्पूर्ण महानुभावहरुप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।

ऐतिहाँसिक प्रमाण, लिखत दस्तावेज र नक्सा समेतका आधारमा मित्रराष्ट्र भारतसँगको सीमा सम्बन्धमा विगत लामो समयदेखि बाँकी रहेको र समय समयमा उठिरहेको विषय लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपालको भूमिलाई समावेश गरी नेपालको नक्सा जारी, संविधान संशोधन गरी निशान छाप समेत परिमार्जन गरेकोमा सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

सम्मानित अध्यक्ष महोदय,

अब म चालु आर्थिक वर्षका नीति तथा कार्यक्रमहरुको समीक्षा प्रस्तुत गर्न चाहन्छु ।

  • जोरायलवासीहरुको सुखदुखमा सरकार घरदैलोमा पुगेको छ । विपद् व्यवस्थापन कोष, आर्थिक सहायता र विभिन्न लक्षित कार्यक्रम मार्फत जनताले राहत पाएका छन् । गाउँपालिकाको केन्द्र देखि सबै वडाहरुको केन्द्रसम्म सडक संजाल विस्तार भएको छ । शिक्षा, स्वास्थ्य, कृषिमा समेत उल्लेख्य उपलब्धि हाँसिल भएका छन् ।
  • नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐन अनुसार जोरायल गाउँपालिकाले विभिन्न कार्यविधि, नियमावली, ऐन, मापदण्डहरु बनाएको छ । उक्त कानूनहरुलाई पूर्ण रुपमा लागू गरिनेछ ।
  • खेलकुद क्षेत्रको विकासका लागि वडा नं. ४ मा स्थानीय खेलग्राम निर्माण कार्य सुरु गरिएको छ । साथै उक्त खेलग्रामलाई निरन्तरता दिन संघिय सरकारसँग समन्वय गरिनेछ।
  • उद्योग क्षेत्रको विकासका लागि वडा नं. २ मा औद्योगिक ग्राम निर्माण कार्य सुरु गरिएको छ र उक्त औद्योगिक ग्राम निर्माण कार्यलाई निरन्तरता दिन संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
  • जोरायल गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि वडा नं. २ मा छहरा झरना प्रवर्द्धन, छतिवन ताल संरक्षण आयोजनाहरु संचालन गरिएका छन् । साथै जोरायल गाउँपालिका भित्रका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थल, मठ-मन्दिरहरु पहिचान गरी आन्तरिक तथा बाह्य पर्यटकलाई बढाउन गरिने प्रयासलाई निरन्तरता दिईनेछ ।
  • जोरायल गाउँपालिका भित्र मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि माटो छनौट गरी माटो स्वास्थ्य परिक्षण प्रमाणपत्र उपलब्ध गराउने कार्य संचालन गरिएको छ, कृषि पकेट क्षेत्रहरु निर्धारण गरिएको छ र यस कार्यलाई थप निरन्तरता दिईनेछ ।
  • स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई क्षमता विकास तालिमहरु संचालन गरिएका छन ।
  • गाउँपालिकाको केन्द्रदेखि वडा नं. ५ को केन्द्रसम्म सडक विस्तार गरिएको छ । सबै वडाहरुका केन्द्रहरुबाट विभिन्न टोलहरुमा तथा पर्यटकीय क्षेत्रहरु जोड्ने गरी सडक विस्तार कार्यलाई निरन्तरता दिईनेछ ।
  • शिक्षा, स्वास्थ्य, कृषि, पशु तथा विभिन्न क्षेत्रहरुमा गरिने विशेष लगानीलाई निरन्तरता दिईनेछ ।

सम्मानित अध्यक्ष महोदय,

अव म यस जोरायल गाउँपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आर्थिक विकास

  • गाउँपालिकामा बसोबास गर्ने सबै नागरिकको खाद्य सुरक्षाको प्रत्याभूत गरिने छ । “कोही भोको पर्दैन, भोकले कोही मर्दैन” भन्ने प्रतिवद्धता पूरा गर्न सबै तहका सरकारबीच सहकार्य गरी बहु-आयमिक कृषि उत्पादनमा जोड दिदै गाउँपालिकालाई “खाद्यान्नमा आत्मनिर्भर स्थानीय तह” घोषणा गर्ने कार्यक्रम अघी बढाईनेछ ।
  • “बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग” भन्ने सोचलाई आत्मसात गर्दै बाँझिदै गएको खेतीयोग्य जमिनलाई कृषि उत्पादनका लागि उपयोगमा ल्याउन विशेष प्याकेज सहितको प्रोत्साहन कार्यक्रम संचालन गरिनेछ । वडा मार्फत बाँझो जमिनको लगत संकलन गरी भूमी बैंकको स्थापना गरिनेछ ।
  • स्थानीय सरकारको पहिलो प्राथमिकता, कृषिकको घरदैलोमा प्राविधिक सेवा भन्ने सोचलाई कार्यान्वयन गर्न प्राविधिक जनशक्तिको व्यवस्था मिलाईनेछ ।
  • विदेशबाट फर्किएका वा स्वदेशमा रहेका रहेका तथा कृषि सम्बन्धी अनुभव, ज्ञान र सीप बटुलेका कृषि र पशुपंक्षी विषयमा अध्ययन पुरा गरी बेरोजगार रहेका युवाहरुलाई कृषि पेशामा आवद्ध गरी उत्पादन जोड दिईनेछ ।विशेष रोजगार तथा आयमूलक “उद्यमीको हात, गाउँपालिकाको साथ कार्यक्रम” को थालनी गरिनेछ ।
  • अध्यक्ष विशेष कृषि कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल उत्पादनलाई जोड दिई माटो परिक्षण कार्यक्रमलाई निरन्तरता दिनुका साथै “एक वडा बहुउद्देश्यीय नर्सरी” अन्तर्गत उत्पादित विरुवा सबै वडाहरुमा प्रसारण गर्ने साथै फलफूलमा आत्मनिर्भर हुन प्रेरित गरिनेछ ।
  • गाउँपालिका क्षेत्र भित्र पहिचना भएका कृषि पकेट क्षेत्रहरुमा कृषि पेशालाई आधुनिकरण गर्न आवश्यक लगानी गरिनेछ साथै घरधुरी स्तरको पोषण सुधार र आयआर्जनका लागि सरोकारवाला निकायहरुसँगको साँझेदारी कार्यक्रमहरु लागू गरिनेछ ।
  • कृषिको आधुनिकीकरण, यान्त्रिकरण र व्यवसायिकरण गरी उत्पादकत्त्व बृद्धिमा जोड दिईनेछ ।
  • कृषि क्षेत्रमा बाली बिमा लगायत स्वास्थ्य विमा र पशु-पंक्षीमा समेत लागू गर्न सम्बन्धित निकायमा निरन्तर पहल गर्ने ।
  • सामूहिक व्यवसायिक कृषिको निर्यातमुलक उत्पादनमा बृद्धि गरी स्वरोजगार सिर्जना गरिने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • गाउँपालिका क्षेत्रमा हाट बजार स्थापना गर्ने, कृषि मेला प्रदर्शनी, उत्कृष्ठ कृषक र व्यवसायीलाई पुरुष्कृत गर्नका लागि बजेट बिनियोजन गरी कार्यान्वयन गरिनेछ ।
  • गरिबी निवारण कोषद्वारा प्रवर्धित सामुदायिक संस्थाहरुलाई सहकारी संस्थामा विकास गरी रोजगारी प्रवर्द्धनको नीति लिइनेछ ।
  • अण्डा, दुध र मासुमा आत्मनिर्भर गाउँपालिका विकास गर्न कुखुरा फर्म, गाई फर्म तथा बाख्रा फर्मलाई निरन्तरता दिईनेछ ।
  • पशु सेवा प्रसार कार्यक्रमको तर्जुमा कार्यान्वयन अनुगमन र मूल्याङ्कन कार्यलाई प्रभावकारी र सशक्त बनाईनेछ ।
  • पशुपंक्षी उत्पादक कृषक समूह, नीजि फर्म समुदायमा उद्यमी व्यवसायीलाई वस्ती स्तरबाट एकिकृत प्राविधिक सेवा, उन्नत नश्ल, व्यवस्थापन सुधार तथा स्वोरोजगारको सृजना गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संचालित कार्यक्रमलाई प्रत्यक्ष विकाससँग जोडेर जनताको सिप, क्षमता र योग्यता अनुसार रोजगारीको खोजीमा रहेका तथा बाहिरबाट रोजगारी गुमाएर फर्कि आउनु भएका व्यक्तिहरुको सिपको विवरण समेत रोजगार सूचना केन्द्रमा अद्यावधिक गरी त्यस्तो व्यक्तिलाई स्थानीय तह भित्र उपलब्ध हुने निर्माण,सेवा व्यवसाय, उद्योग कृषि लगायतका क्षेत्रका रोजगारदाता सँग समन्वय गरी रोजगारी प्रदान गर्ने सहजीकरण गर्ने व्यवस्था मिलाईने छ ।
  • गाउँपालिकाको आन्तरिक आय स्वावलम्वन पार्न कर तथा राजश्व संकलनका क्षेत्रहरु पहिचान, व्यवस्थापन र विकास गर्ने नीतिलाई निरन्तरता दिईएको छ साथै नदि जन्य निर्माण सामाग्रीहरु (ढुङ्गा, गिट्टी, बालुवा) को उत्खनन तथा प्रयोगलाई अझै व्यवस्थित गरिने छ ।
  • बढ्दै गएको युवाको विदेश पलायनलाई रोक्न युवाहरुलाई साना उद्योग स्थापना गर्न प्रोत्साहन गर्न विशेष अनुदानको व्यवस्था गरिनेछ र जसले गरिवको रेखामुनी रहेका मानिसको संख्या कम गर्दै लगिने छ ।
  • संघीय सरकारबाट वडा नं. २ मा औद्योगिक ग्राम स्थापनाका लागि प्राप्त बजेटबाट निर्माणाधिन औद्योगिक ग्रामलाई संघीय सरकारसँगको समन्वय र सहकार्यमा निर्माण कार्यमा निरन्तरता दिईनेछ ।
  • औद्योगिक क्षेत्रमा लगानी आकर्षित गर्न आवश्यक नीतिगत, कानूनी, प्रशासनिक तथा आर्थिक सुधारका प्रयासहरुलाई निरन्तरता दिईनेछ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन गरिनेछन्

सम्मानित अध्यक्ष महोदय,

सामाजिक विकासः

  • आधारभूत तहको शिक्षालाई सुदृढीकरण गर्दै कक्षा १२ सम्मको निःशुल्क शिक्षामा सम्पूर्ण बालबालिकाहरुको पहुँच सुनिश्चिततालाई निरन्तरता दिईनेछ ।
  • विद्यमान शिक्षा प्रणालीमा सुधार गर्दै शिक्षा क्षेत्रलाई व्यावसायिक, प्राविधिक, रोजगारमूलक र नतिजामुखी शिक्षा बनाउन विद्यालयहरुको भौतिक पूर्वाधारहरुमा क्रमशः सुधार एवं विस्तार गरिने नीति अवलम्वन गरिनेछ ।
  • सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर सुधारका लागि नियमित अनुगमन गर्ने कार्यलाई निरन्तरता दिई उत्कृष्ठ विद्यालयलाई नमूना विद्यालय छनोट गरि पुरस्कृत गरिने कार्यक्रम, उत्कृष्ठ प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम तथा सबै छात्राहरुलाई स्यानिटरी प्याडको व्यवस्था गरिनेछ ।
  • भौगोलिकता, विद्यार्थी संख्या तथा आवश्यकताका आधारमा विद्यालय समायोजन गरिने, कक्षा थप/घट गरिने तथा गाभिएका वा बन्द भएका विद्यालयहरुको सम्पत्ति आवश्यकताको आधारमा अन्य विद्यालयमा समायोजन गरिनेछ ।
  • सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि तथा राज्यको स्रोतबाट पारिश्रमिक लिने सम्पूर्ण पदाधिकारीहरुका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने नीति अनिवार्य गरिनेछ । साथै जोरायल गाउँपालिकाको शिक्षा ऐन- २०७७ जारी गरी कार्यान्वयनमा ल्याईनेछ ।
  • गाउँपालिका क्षेत्र भित्र स्थापना भई संचालनमा आएका बाल बिकास केन्द्रहरुमा शैक्षिक वातावरणमा टेवा पुर्‍याउन आवश्यक शैक्षिक तथा अन्य सामाग्रीहरु वितरण गरिनेछ ।
  • खेलकुद क्षेत्रमा गाउँपालिकाको पहिचान बनाउन तथा क्षेत्रगत विकास गर्न खेलकुदको क्षेत्रमा रहेका प्रतिभाहरुलाई हौसला एवम् सम्मान कार्यक्रमलाई निरन्तरता दिईने छ । साथै गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरु मध्ये एक विद्यालय एक खेल शिक्षक नियमित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुलाई निरन्तरता दिईनेछ ।
  • खेलकुद क्षेत्रको विकासलाई प्रभावकारी बनाउन वडा नं. ४ मा निर्माणाधिन गाउँपालिका खेलग्रामलाई निरन्तरता दिईनुका साथै संघीय सरकारबाट आवश्यक सहयोगका लागि समन्वय गरिनेछ ।
  • यस गाउँपालिका अन्तर्गतका प्रत्येक माध्यमिक तहका विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालय र इन्टरनेट सुविधायुक्त सूचना केन्द्र स्थापना, व्यवस्थापन र छात्राबास निर्माणको लागि सम्बन्धित प्रदेश, संघीय सरकार तथा सरोकारवाला निकायहरुसँग पहल गरिनेछ ।
  • गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा “एक विद्यालय एक करेसाबारी” कार्यक्रम संचालनमा ल्याईनेछ ।
  • प्रत्येक विद्यालयमा गुनासो सुन्ने व्यवस्थाका लागि अनिवार्य रुपमा गुनासो पेटिकाको व्यवस्था गरिनेछ ।
  • सरसफाई शिक्षण सिकाईको आधार भएकोले प्रत्येक विद्यालयहरुमा साबुन पानीले हात धुने र पानीको उचित व्यवस्थापन गरिनेछ ।
  • समृद्धि र विकास निर्माणको आधार, महिलाको क्षमताको विकास नारालाई कार्यान्वयन गर्दै गाउँपालिका क्षेत्र भित्र महिला सशक्तिकरणका साथै उद्यमशिलताको विकास गउन “उपाध्यक्ष महिला सशक्तिकरण कार्यक्रम” संचालन गरिनेछ ।
  • गाउँपालिका भित्र “खानेपानी सरसफाई, स्वच्छता र वातावरणीय सुधार कार्यक्रम” लाई निरन्तरता दिईनेछ । उक्त कार्यक्रम अन्तर्गत सार्वजनिक स्थल, मठ-मन्दिर, विद्यालयहरुमा स्वच्छ खानेपानी तथा शौचालयहरुको निर्माण तिनतारे मोडेलमा गरिनेछ । साथै गाउँपालिकालाई पूर्ण सरसफाई गाउँपालिका घोषणा गरिनेछ ।
  • उपभोक्ताहरुको उपभोग्य सामाग्रीहरुको गुणस्तर कायम राख्न नियमित बजार अनुगमन तथा गुनासो सुनुवाई संयन्त्र मार्फत गाउँपालिकाका क्षेत्र भित्रका बजार अनुगमन तथा बजार व्यवस्थापन सुधार गर्ने प्रकृयालाई निरन्तरता दिईनेछ ।
  • गाउँपालिका क्षेत्रका जलश्रोतहरुको समुचित व्यवस्थापनका लागि जलउपयोग गुरुयोजना निर्माण गरिएको छ र गुरुयोजना अनुसार गाउँपालिकाका सबै बस्तीहरुमा साझेदार निकायहरुको समन्वयमा क्रममशः स्वच्छ खानेपानी व्यवस्थापन गरिनेछ, साथै मुहानमा पानीको मात्रा प्रयाप्त उपलब्ध भएको क्षेत्रमा घर घरमा धारा सहितको निजी धारा प्रणालीलाई निरन्तरता दिईनेछ ।
  • स्वच्छ खानेपानी सुनिश्चित गर्न गाउँपालिका क्षेत्रमा पानी परिक्षण प्रयोगशाला स्थापना गरिने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • नेपाल सरकारको आगामी तीन वर्षभित्र सबै जनतालाई आधारभूत स्तरको खानेपानी सुविधा उपलब्ध गराउने तथा दिगो विकास लक्ष्य नं. ६ बमोजिम सन् २०३० भित्र कुल जनसंख्याको ५० प्रतिशतलाई सुधारिएको खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य पूरा गर्न खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रको योजना तर्जुमा, विद्यमान खानेपानी योजनाहरुको सञ्चालन तथा मर्मत सम्भार व्यवस्थापन, हालसम्म सो सुविधा पुग्न नसकेको क्षेत्रको पहिचान गरी समतामूलक तथा सहभागितात्मक पद्धति अवलम्वन गरी समन्वयात्मक एवम् पारदर्शी पद्धति अपनाई सेवा प्रदान गर्न गाउँपालिका स्तरमा खानेपानी, सरसफाई स्वच्छता व्यवस्थापन वोर्ड स्थापना गरी सो मातहत वास युनिट मार्फत नयाँ योजना निर्माण तथा विद्यमान योजनाहरुको मर्मत सम्भारको सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ ।
  • गरिबी न्यूनीकरण, महिला र आदिवासी जनजाति दलित एकल महिला र अशक्त तथा भिन्न क्षमता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि गर्न साथै सहज जीवनयापनका लागि तालिम अभिमुखिकरण जस्ता विशेष कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ साथै गरिब पहिचान कार्यक्रमलाई समेत चालु आ.व. मा निरन्तरता दिईनेछ ।
  • गाउँपालिका भित्रका श्रमिकहरुको पेशाको सम्मानको वातावरण निर्माण गर्न गाउँपालिकाबाट निर्माण हुने भौतिक पूर्वाधारमा स्थानीय श्रमिक परिचालनमा प्राथमिकता दिईनेछ ।
  • गाउँपालिकालाई बालश्रम मुक्त घोषणा कायम गर्न बालश्रम पूर्ण रुपमा बन्देज र दण्डनीय बनाउन बालक्लवहरुलाई अभिमूखिकरण तालिमहरु प्रदान गरी परिचालन गरिनेछ ।
  • सामाजिक सुरक्षा भत्ता वितरणको समयमा नै निःशुल्क स्वास्थ्य जाँच तथा औषधीको व्यवस्था गरिनेछ । साथै उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बित्तीय संस्थाहरुसँगको समन्वयमा बैङ्किङ प्रणाली मार्फत वितरण गर्न आवश्यक पहल गरिनेछ ।
  • सरकारी तथा गैह्र सरकारी संस्थाहरुबाट सम्पादन गरिने कार्यहरुलाई अझै प्रभावकारी बनाउन संस्थाहरु बिचको समन्वयात्मक बैठकहरु चालु आ.व. देखि निरन्तर आयोजना गरिनेछन् । साथै सेवा प्रवाह प्रक्रियालाई व्यवस्थित गर्न एकिकृत योजना तथा एकद्वार प्रणाली लागू गरिनेछ ।
  • विभिन्न कालखण्डमा संचालन भएका जन-युद्ध तथा जन-आन्दोललनबाट प्रभावित क्षेत्र तथा समुदायका कार्यक्रमहरु उच्च प्राथमिकताका साथ कार्यान्वयनलाई चालु आ.व. मा समेत निरन्तरता दिईनेछ ।
  • बेरोजगारी गरिबी र कोभिड १९ को महामारीबाट आक्रान्त नागरिकलाई तत्काल राहत पुग्ने, गरिवी न्यूनीकरण गर्ने र स्वास्थ्य सुरक्षा प्रदान गर्ने कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिनेछ ।
  • हाल महामारीको रुपमा रहेको कोभिड १९ कोरोनाका कारण आई परेको समस्यासँग जुध्न अर्थात लडाई जित्न यसको रोकथाम एवम् नियन्त्रणमा जोड दिईनुका साथै कोभिड १९ कोरोना रोगको रोकथाम तथा नियन्त्रणमा कोभिड १९ संक्रमित नागरिकहरुको उपचारको लागि छुट्टै आईसोलेशन वार्ड सहितको स्वास्थ्य संरचना तयार गर्ने र अझै व्यवस्थित क्वारेन्टीन संचालन तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिईनेछ ।
  • कोभिड १९ कोरोना रोगको रोकथाम तथा नियन्त्रणको लागि स्थापना भएको प्रकोप व्यवस्थापन कोषमा आवश्यक बजेट बिनियोजन गरिनेछ ।
  • संक्रमण जोखिम रहदासम्म अशक्त असहाय एवम् आर्थिक रुपले विपन्न गर्भवती महिला ज्येष्ठ नागरिक एवम् अपांगता भएका व्यक्तिहरुका लागि राहत कार्यक्रम संचालन गरिनेछ ।
  • कोभिड १९ को समयमा स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी तथा जनशक्तिलाई स्वास्थ्य सुरक्षा सामाग्रीहरुको अभाव नहुने गरी व्यवस्था मिलाईनेछ ।
  • एम्वुलेन्स, सवारी यातायात अन्य साधन जस्ता सेवालाई चौबिसै घण्टा संचालन हुने गरी व्यवस्था मिलाईनेछ । डिप्रेशन हुन सक्ने विद्यार्थी, एकल, गर्भवती महिला, ज्येष्ठ नागरिक अपांग भएका व्यक्तिहरुलाई आवश्यक मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने कार्यक्रम संचालन गरिनेछ ।
  • अपाङ्गता भएका व्यक्तिहरुका लागि क्षमता विकास र रोजगारीका कार्यक्रम तथा मनोबल उच्च बनाउन, दक्ष र सक्षम बनाउन शिक्षा र तालिमको व्यवस्था गरिने कार्यलाई निरन्तरता दिइएको छ ।
  • लैङ्गिक समानता, महिला सशक्तिकरण र समावेशिकरण गर्ने नीतिलाई प्रोत्साहन गरिनुका साथै दलित आदिवासी जनजाती, अपांग, गरिब, पिछिडिएको वर्ग एवम् समुदायलाई सशक्तिकरण गरी प्रवाहीकरणमा ल्याउन आवश्यक कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ । महिला हिंसा, बाल विवाह, बहुविवाह, अनमेल विवाह, बोक्सी प्रथा र छाउपडी प्रथा जस्ता विकृतिलाई उन्मुलन गर्न जोड दिईनेछ ।
  • सुनौला हजार दिनका महिलाहरुलाई “उपाध्यक्ष कोसेली कार्यक्रम” संचालनमा ल्याईनेछ ।
  • महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई क्षमता अभिवृद्धि गर्न दिईने विभिन्न तालिमहरुलाई निरन्तरता दिईनेछ ।
  • आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवामा सबै जनताको सरल, सहज पहुँच सुनिश्चिताका लागि गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य चौकीहरुमा आवश्यक भौतिक व्यवस्थापन तथा दक्ष जनशक्ति व्यवस्थापन सम्बन्धित कार्यक्रमहरु संचालन गरिनेछ ।
  • गर्भवति, शिशु, बालबालिका, किशोरी र अपाङ्गता भएका व्यक्तिको पोषण स्थितिमा थप सुधार ल्याउन साझेदार निकायहरुको समन्वयमा बहुक्षेत्रीय पोषण योजनालाई निरन्तरता दिईनेछ ।
  • गाउँघर क्लिनिक तथा खोप क्लिनिकबाट प्रदान गरिने सेवा अझै सुदृढीकरण गरिनुका साथै समय सापेक्ष गाउँपालिका भित्र स्वास्थ्य तथा योग शिविरहरु संचालन गरिनेछन् ।

सम्मानित अध्यक्ष महोदय,

भौतिक पूर्वाधार विकासः

  1. गाउँपालिकामा तयार गरिएको गाउँपालिका पार्श्वचित्रमा आधारित तथ्याङ्क विश्लेषणको प्रक्रिया अनुसार योजना छनोट गरी भौतिक संरचना तथा विकास पूर्वधारहरु कार्यक्रम संचालन गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।
  2. गाउँपालिका अन्तर्गत संचालन हुने ठूला आयोजनाहरु संचालन गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सोही आधारमा संचालन गरिनेछ । ठूला आयोजना संचालनको लागि संघ र प्रदेश सरकारसँग निरन्तर पहल गरिनेछ ।
  3. भौतिक पूर्वाधार वकास मार्फत गाउँपालिका बासीको जीवन शैली सरलीकृत बनाउन संघ तथा प्रदेश सरकारसँग समन्वय, आन्तरिक स्रोत परिचालन, विभिन्न विकास साझेदारीहरु बिच समन्वय र सहकार्य गरी पूर्वधार विकासका कार्यलाई गतिशीलता प्रदान गरिनेछ ।
  4. गाउँपालिका भित्रका पहिचान भएका खेतीयोग्य जग्गा जमिनको लगत तयार गरी सिँचाई कार्यक्रम मार्फत आयआर्जन कार्यक्रमहरु संचालन गरिनेछन् ।
  5. उज्यालो जोरायल कार्यक्रमलाई चालु आ.व. मा समेत निरन्तरता दिईनेछ । विद्युतको पहुँच नभएका स्थानहरुमा लघुजलविद्यूत आयोजना लगायतका बैकल्पिक उर्जाका कार्यक्रमका लागि अनुदानलाई निरन्तरता दिईनेछ ।
  6. गाउँपालिकाका विभिन्न नदी र खोलाहरु आवत जावत सहज गर्न झोलुङ्गे पुल निर्माण कार्य प्राथमिकतामा राखिएको छ ।
  7. गाउँपालिका भित्रका वडा कार्यालयहरु लगायत अन्य सेवा कार्यालयहरुको भौतिक संरचना सुधार र स्तरोन्नती लगायत नयाँ निर्माणका लागि प्रदेश तथा संघीय सरकारसँग समन्वयात्मक पहल गरिने छ ।
  8. सार्वजनिक तथा नीजि भवन निर्माण गर्दा भवन निर्माण आचार संहितालाई लागू गर्ने कार्य थप व्यवस्थित गरिनेछ ।

सम्मानित अध्यक्ष महोदय,

संस्कृति प्रवर्द्धन तथा पर्यटन पूर्वधार विकासः

  1. आन्तरिक तथा बाह्य पर्यटनलाई बढावा दिन गाउँपालिका भित्र रहेका धार्मिक पर्यटन स्थल सांस्कृतिक सम्पदा मठ मन्दिरहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि प्रचार प्रसार लगायत थप संस्कृति झल्काउने भौतिक पूर्वाधारहरुको विकास गरिनेछ ।
  2. गाउँपालिका भित्रका विविध जातजाती तथा जनजातीहरुको स्थानीय भाषा, साहित्य, कला र मौलिक संस्कृतिको संरक्षण र सम्बर्द्धनमा निरन्तर जोड दिईनेछ । साथै स्थानीय समुदायको संस्कृतिमा आधारित होमस्टे संचालनका लागि विशेष पहल गरिनेछ ।
  3. स्थानीय पर्यटकीय क्षेत्रहरुको पहिचान, संरक्षण सम्वर्धन र विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा जोड दिई रोजगारका अवसरहरु श्रृजना गर्न प्रोत्साहन गरिनेछ साथै पर्यटकीय क्षेत्र विकासका लागि सरकारी, नीजि तथा अन्य साझेदार निकायहरुबिच समन्वयात्मक भूमिकामा कार्यान्वयन गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

सम्मानित अध्यक्ष महोदय,

वन वातावरण तथा विपद् व्यवस्थापनः

  1. जैविक विविधताको संरक्षण गर्न एग्रो-फोरेष्ट्रिका कार्यक्रम संचालन गरी सम्पूर्ण वन जङ्गलहरुको संरक्षण तथा संवर्द्धन कार्यलाई निरन्तरता दिईनेछ, साथै सामुदायिक वन क्षेत्र विकास र विस्तार गर्नुका साथै सार्वजनिक जमिनमा वृक्षारोपण अभियान संचालन गरिनेछ ।
  2. एक घर एक खाडल, एक चाड तथा एक पसल एक डस्टबिनको अवधारणा अवलम्वन गरी स्वच्छ र सफा सुग्घर जोरायल गाउँपालिका बनाउन पहल गरिनेछ साथै पूर्ण सरसफाई युक्त गाउँपालिकाको लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीहरु तथा पूर्ण सरसफाई स्वयमसेवकहरु परिचालन गरिनेछ ।
  3. गाउँपालिका तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई थप क्रियासिल बनाईनेछ ।

सम्मानित अध्यक्ष महोदय,

संस्थागत विकास, सेवा प्रवाह, वित्तीय व्यवस्थापन, सुशासन तथा पारदर्शिताः

  1. गाउँपालिका तथा वडाहरु संचालन र व्यवस्थापनको लागि कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिमहरु संचालन गरिनेछन् । साथै संघीय सरकारको समन्वयमा संगठनात्मक संरचना अनुसार आवश्यक थप जनशक्ति व्यवस्थापनका लागि पहल गरिनेछ ।
  2. सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन कर्मचारीलाई अवलोकन भ्रमणको व्यवस्था गरिनेछ ।
  3. विकास निर्माणलाई प्रभावकारी वनाउन प्रत्येक वडामा एक प्राविधिक कर्मचारीको व्यवस्था गरिने छ ।
  4. गाउँकार्यपालिकाको कार्यालय भवनमा सि.सि.टि.भी. र डिजिटल नागरिक वडापत्र तथा बोर्ड स्थापना गरिनेछ ।
  5. निजामती सेवा दिवसको अवसरमा जोरायल गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कनको आधारमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरी सम्मान गरिनेछ ।
  6. गाउँपालिकाको आर्थिक, भौतिक, सामाजिक तथा मानवीय विकासको दीर्घकालीन सोच सहितको आवधिक योजना अद्यावधिक गर्ने प्रक्रियालाई निरन्तरता दिईनेछ ।
  7. गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक निकायहरु मार्फत प्रवाह गरिने सेवाहरुको कार्य सम्पदान मूल्याङ्कन गरी पुरष्कार तथा दण्ड प्रणाली अवलम्वन गरिनेछ सो कार्यलाई चालु आ.व. मा समेत निरन्तरता दिईनेछ ।
  8. वित्तीय अनुशासन कायम गर्न चालु आर्थिक वर्षमा तेश्रो पक्ष सार्वजनिक सुनुवाईलाई निरन्तरता दिईनेछ ।
  9. गाउँपालिका मार्फत प्रवाह गरिने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाईनुका साथै भ्रष्टाचार शून्य शहनशीलताको नीति अवलम्वन गरी सुशासनको प्रत्याभूति गराईनेछ ।
  10. आयोजनाहरुको दिगो विकास व्यवस्थापनका लागि गाउँपालिका र वडा स्तरीय अनुगमन तथा मूल्याङ्कन समितिलाई थप क्रियाशिल गराई परिचालन गरिनेछ ।
  11. आर्थिक अनुशासन तथा पारदर्शिता कायम गरी सुशासनको प्रत्याभूति गराउन गाउँपालिका अन्तर्गत कार्यान्वयन गरिने क्रियाकलापहरुको सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई कार्यक्रम नियमित संचालन गर्ने र लेखा परिक्षण मार्फत शून्य बेरुजु कायम गर्ने नीति अवलम्वन गरिनेछ ।
  12. स्थानीय सरकार र जनताबीच जीवन्त राख्न “जनतासँग जनप्रतिनिधी प्रत्यक्ष कार्यक्रम” संचालन गरिनेछ । यस कार्यक्रम मार्फत जनताका गुनासा नियमित रुपमा सम्बोधन गरिनेछ ।
  13. गाउँपालिका क्षेत्र भित्र संचालन हुने योजनाहरुमा अनिवार्य योजना सूचना पाटि, योजना स्थलमा होडिङ बोर्ड राख्ने प्रकृयालाई निरन्तरता दिईनेछ ।
  14. गाउँपालिकाको कार्य सम्पदानलाई छिटो छरितो, प्रविधिमैत्री, पारदर्शी र गुणस्तरीयता कायम गर्दै सूचना तथा प्रविधिको अधिकतम उपयोग मार्फत शासन प्रणालीलाई स्थानीय तहबाट नै सुदृढीकरण गरिने नीति अवलम्वन गरिनेछ ।
  15. गाउँपालिकाबाट कार्यान्वयन हुने योजना, कार्यक्रममा वित्तीय जोखिम न्यूनिकरणका लागि निर्माण र खरिद प्रक्रियालई बढी पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन वार्षिक खरिद योजना बनाई E-Bidding लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
  16. आर्थिक वर्षको अन्त्यमा आएर असारे विकास गर्ने परिपाटीको अन्त्य गरिनेछ । यसका लागि आर्थिक वर्षको शुरुमा नै योजना सम्झौता गराई काम गर्न शुरु गर्ने र समयमा नै गाउँपालिकाका कार्यक्रम तथा आयोजनाहरु सम्पन्न गरिनेछ ।
  17. प्रविधिको प्रयोग तथा सूचनामा पहुँच अभिवृद्धि गर्न गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी तथा शिक्षकहरुलाई सूचना प्रविधिसँग सम्बन्धित तालिम तथा कार्यशाला संचालन गरिनेछ ।
  18. कोभिड १९ को कारण कर तथा गैह्रकर राजश्वमा पर्न सक्ने असरलाई आँकलन गरी आन्तररिक आय अनुमानलाई सकेसम्म यथार्थपरक बनाईने प्रयास गरिनेछ ।
  19. जनताको कर जनताको लागि भन्ने नाराका साथ गाउँपालिकाबाट उठेको कर दस्तुर जनताको हितकै लागि खर्च गरिनेछ । प्रत्येक वडाहरु तथा विषयगत शाखाहरुबाट उठेको आन्तरिक राजश्व प्रत्येक महिनाको ७ गते भित्र अनिवार्य रुपमा पेश गरिने नीतिलाई अवलम्वन गरिनेछ । साथै राजस्वको दायरा फराकिलो पारी आन्तरिक आम्दानी बढाउने नीति लिइनेछ ।
  20. आर्थिक क्रियाकलापमा आएको संकुचन सँगै स्थानीय तहको आन्तरिक आय, अन्तर सरकारी बित्त हस्तान्तरण राजश्व बाँडफाँड तथा रोयल्टी रकममा आउन सक्ने कमीलाई ध्यान दिदै लचकता सहितको उपयुक्त आकारको बजेट तर्जुमा गर्ने प्रयास रहने छ ।
  21. सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई सूचना प्रविधि मैत्री बनाई सुदृढीकरण गरिने नीति लिईनेछ ।

अन्त्यमा, यस गाउँपालिकाको आर्थिक, सामाजिक विकासका विविध पक्षमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने सबै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मीहरु, नीजि क्षेत्र, नागरिक समाज, सञ्चार जगत, गाउँपालिका बासिन्दाहरु, शुभेच्छुक, मित्र राष्ट्रहरु, विभिन्न संघ-संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

धन्यवाद

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: